प्राधिकरणको नयाँ महसुलप्रतिमिश्रित प्रतिक्रिया

  • प्रकाशित मिति : September 30, 2021
  • धनसञ्चार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत् महसुलप्रति मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । विद्युत् नियमन आयोगले आज आयोजना गरेको सार्वजनिक सुनुवाइमा सहभागी सर्वसधारण, उद्योगी व्यवसायी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले प्राधिकरणले प्रस्ताव गरेको २० युनिटसम्म खपत गर्ने ग्राहकलाई छुट दिने विषय जायज भएको बताए ।
उनीहरूले डिमाण्ड शुल्कमा भएको वृद्धि भने आफूहरुका लागि मान्य नभएको बताए । केही उपभोक्ता अधिकारकर्मीले गार्हस्थ्य उपभोक्तलाई प्राधिकरणले अझै पनि हेर्न नसकेको गुनासो गरे । प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुलमा पाँच एम्पियर बराबरको क्षमतामा २० युनिट बिजुली प्रयोग गर्नेलाई इनर्जी शुल्क नलाग्ने भए पनि सेवा शुल्क तिर्नुपर्नेमा आपत्ति जनाए । सुुनुवाइमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा खेर जाने बिजुलीको अधिकतम उपभोग गर्न उद्योगी तथा व्यवसायीलाई अनुरोध गर्नुभयो ।

उहाँले उद्योगीले मागे जति बिजुली दिन प्राधिकरण तयार रहेको भन्दै बिजुली पाइएन भनेर गुनासो नगर्न आग्रह गर्नुभयो । रातको समयमा प्रयोग गरिने बिजुलीको महसुलसमेत कम हुने र कम बिजुली प्रयोग भएको अवस्थामा मात्रै डिमाण्ड शुल्क बढीपर्ने भएकाले बढीभन्दा बढी बिजुली खपत होओस् भन्ने ध्येयले मात्रै सात प्रतिशत मात्रै बढाइएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो ।

प्राधिकरणले २२० केभी र ४०० केभी क्षमताको प्रसारण लाइनसमेत निर्माण गरिरहेको जानकारी दिंदै उहाँले औद्योगिक ग्राहकलाई अब १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत पनि बिजुली उपलब्ध गराउन सकिने बताउनुभयोे ।

वीरगन्ज, भैरहवा र नवलपरासीलगायत औद्योगिक करिडोरमा ठूला क्षमताका प्रसारण लाइनबाट बिजुली उपलब्ध गराउन सकिने र वितरण प्रणालीमा उल्लेख्य लगानी गरिएको छ । वर्षाका बेला मात्रै केही बिजुली खेर गए पनि पूर्ण रुपमा हिउँदको समयमा अझै आयात गर्नुपर्ने भएकाले क्रमशः बिजुलीको महसुल न्यून गर्दे लगिने कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।