राँगाको मासु भनेर भैँसीको मासु बिक्री

  • प्रकाशित मिति : September 30, 2021
  • धनसञ्चार

बनेपा । बनेपाको विभिन्न मासु पसलमा बिक्रीका लागि राखिएका मासु र त्यसमा राखेको बोर्डमा राँगाको मासु पाइन्छ भनेर लेखेको भए पनि अनुगमनका क्रममा बधशालामा भैँसी मात्रै काटेको पाइएको अनुगमन समितिले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुनुवार नेतृत्वको टोलीले गरेको अनुगमनको क्रममा गोठमा राखिएको ठाउँमा सबैजसो भैँसी मात्रै पाएको बताउनुभयो । काटेर बेच्ने भैँसी, पसलमा राँगाको मासु भनेर बेच्ने गरेको भन्दै त्यसो नगर्नसमेत व्यवसायीलाई निर्देशन दिएको छ ।

बधशाला सञ्चालक दिलकुमार शाहीले भने बजारबाट राँगा नआइपुगेका कारण अहिले भैँसी मात्रै काटेर बिक्री गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “तराईबाट ल्याउनुपर्ने भएकाले कहिलेकाहीँ ढिला आइपुग्ने र बाटोका समस्याले बेलामा नआइपुग्ने अवस्था भएको हो ।”

एकातिर बधशाला बिनादर्ता सञ्चालन गर्नु, अर्कोतिर राँगाको मासु भनेर भैँसी काटेर बेच्ने गरेका कारण पशुबधशाला तथा मासु जाँच ऐन र स्थानीय सरकार सञ्चालन ऐनअनुसार कारबाही हुने विज्ञ केन्द्रका डा साहले बताउनुभयो । भैँसी र राँगाको मूल्यदर छुट्टै हुने भएकाले काटेर बेचे पनि उपभोक्तालाई नझुक्याइकन भैँसी र राँगाको नै भनेर प्रष्टरूपमा भनेर बेच्नसमेत उहाँले व्यवसायलाई निर्देशन दिनुभयो ।