दाङका दुई स्थानीय तहका सात वडालाई जडिबुटीको पकेट क्षेत्र बनाइने

  • प्रकाशित मिति : August 1, 2021
  • धनसञ्चार

दाङ । दाङका दुई स्थानीय तहका सात वडालाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास गर्न थाालिएको छ । डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिकाका वडा नं १८ र १९ तथा बङ्गलाचुली गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मलाई जडिबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न थालिएको हो ।

स्थानीयवासीको वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्धन्द्धलाई घटाएर व्यावसायिकरुपमा जडिबुटी खेतीलाई प्रबद्र्धन गर्ने उदेश्यले जडिबुटी पकेट क्षेत्र घोषणा गरी काम थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सात वडामा यस वर्ष सहकारीमार्फत ७१ हजार बढी जडिबुटीका बिरुवा रोपण गरिएको छ । वन कार्यालयले सर्वोेत्तम बहुउदेश्यि सहकारी संस्था घोराहीसँगको समन्वयमा टिमुर, दालचिनी र मालागेडीका ७१ हजार ३० बिरुवा रोपण गरेको छ ।

विसं २०७५ मा पकेट क्षेत्र घोषणा गरी जडिबुटीको व्यावसायिक खेती गर्ने अभियान थालिएको हो । सहकारीमार्फत यस वर्ष पकेट क्षेत्रमा गरिएको जडिबुटी खेती विस्तार कार्यक्रमका विषयमा छलफलसमेत गरिएको छ ।

यस वर्ष ७१ हजार ३० र गत वर्ष ७५ हजार बढी जडिबुटीका बिरुवा रोपिएको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । दुई वर्षको अवधिमा करिब सात सय किसान जडिबुटी खेतीमा आबद्ध भएका उनको भनाइ छ ।

वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्धन्द्धलाई घटाइ व्यवसायिकरुपमा जडिबुटी खेतीलाई प्रबद्र्धन गर्ने उदेश्य रहेको उहाँले जानकारी दिए ।