बैङ्क ह्याकिङको धम्की प्रकरण : राष्ट्र बैङ्क भन्छ, ‘हामीलाई कुनै इमेल आएको छैन’

  • प्रकाशित मिति : July 22, 2021
  • धनसञ्चार

काठमाडौ । राष्ट्र बैङ्कसहित १५ वटा बैङ्कको ह्याकिङ गरी पैसा झिक्ने सम्बन्धमा कुनै इमेल नआएको राष्ट्र बैङ्कले प्रष्ट पारेको छ । राष्ट्र बैङ्कका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार बैङ्कको सिस्टम ह्याकिङका सम्बन्धमा अहिलेसम्म कसैले कुनैपनि इमेल पठाएका छैनन् ।

रातोपाटीसँग कुरा गर्दै पोखरेलले भने, ‘अहिले सामाजिक सञ्जालमा पनि ह्याकिङका लागि फोन कल र इमेल आएको भन्ने विषय भाइरल भएको रहेछ । तर अहिलेसम्म हामीलाई त्यस्तो इमेल आएको छैन ।’

सामाजिक सञ्जालमा भने कुनै समूहले राष्ट्र बैङ्कसहित अन्य १४ वटा बैङ्कले सिस्टम ह्याक गरी पैसा झिक्ने चेतावनी दिइएको छ । उक्त समूहले सामाजिक सञ्जालमा जारी गरेको सूचनामा नेपाल राष्ट्र बैङ्क, कुमारी बैङ्क, नेपाल बैङ्क, नबिल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, माछापुच्छ्रे बैङ्क, एनएमबि बैङ्क, एनआइसी एशिया बैङ्क, बैङ्क अफ काठमाण्डू, सिटिजन्स बैङ्क इन्टरनेशनल, सानिमा बैङ्क, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैङ्कको नाम उल्लेख गरी ती बैङ्कको सिस्टम ह्याक गरेर रकम निकाल्ने बताइएको छ ।

सहायक प्रवक्ता पोखरेलका अनुसार उक्त समूहले इमेल नै लेखेर धम्की दिएको नभई सामाजिक सञ्जालमा यी बैङ्कहरुको सिस्टम ह्याक गरेर पैसा निकाल्न लागेकोबारे धम्की दिँदै स्टाटस भने पोष्ट गरेका थिए ।

हाम्रो सिस्टम सुरक्षित छ : राष्ट्र बैङ्क

सहायक प्रवक्ता पोखरेलका अनुसार फेसबुक, भाइबर लगायतका सामाजिक सञ्जालमा यस्ता म्यासेज आएपछि बिहानै राष्ट्र बैङ्कका सूचना प्रविधि विज्ञहरुले आफ्नो सिस्टम चेक गरेका थिए । तर आफ्नो सिस्टममा कुनै खराबी नभएको र धम्की आएको भनिएका बैङ्कहरुको प्रणालीमा पनि कुनै समस्या नरहेको पोखरेलले बताए । पोखरेल भन्छन्, ‘कुनै समूहले धम्की दिन मात्रै त्यस्तो अफवाह फैलाएको हुन सक्ने देखिएको छ । अहिलेसम्म राष्ट्र बैङ्क वा अन्य बैङ्कको सिस्टममा त्यस्तो कुनै समस्या देखिएको छैन । हामी यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ ।’

धम्की कुन देशबाट कसरी आयो भन्ने बारेमा स्पष्ट नपारेपनि अमेरिकी नम्बरको प्रयोग गरेर भाइबर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत् फोन र म्यासेज आएको हो ।

ह्याकर दाबी गर्ने समूहले पठाएको म्यासेजमा बिहीबारबाट चेक क्लियरिङ लगायतमा समस्या पर्ने र नेपाललाई ठूलो घाटा हुने बताइएको छ । साथै उक्त सन्देशलाई हलुका वा मजाकको रुपमा नलिनसमेत भनिएको छ ।