सच्याएर भए पनि एमसीसी अनुमोदन हुन्छ : मन्त्री ज्ञवाली

  • प्रकाशित मिति : September 18, 2020
  • Dhan Sanchar

२ असोज । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुने बताएका छन् ।

शुक्रबार बुटवलमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले एमसीसीका विषयमा उठेका केही प्रश्नको हल गरेर अनुमोदन हुने बताएका हुन् ।



पार्टीले गठन गरेको कार्यदलले परिमार्जनसहित एमसीसी पारित गर्ने सुझाव पार्टीलाई दिएकाले आवश्यक परे सच्याएर एमसीसी अनुमोदन हुने बताए ।

पार्टीभित्रको विवादले झण्डै फुटको अवस्थामा पुगेको पार्टी अहिले पुरानै एकताको अवस्थामा पुगेको उनले दाबी गरे । ‘अझै पनि अन्तरविरोधहरु छन्, तर तिनलाई महाधिवेशनबाट समाधान गर्नेगरी पार्टी अहिले एक भएको छ’ उनले भने ।

मन्त्री ज्ञवालीले भारतसंग कुटनीतिक सम्वाद र छलफलबाटै सीमा समस्याको समाधान गर्ने बताए । भारतसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै उनले राष्ट्रियताको पक्षमा नेपाल उभिँदा सम्बन्धमा केही समस्या आउने गरेको दावी गरे ।

कोरोना महामारीका कारण देशको आर्थिक वृद्धि दर निकै खुम्चिने देखिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले स्वास्थ्य सतर्कता अपनाउँदै आर्थिक गतिविधि खुला गर्नुको विकल्प नभएको बताए ।

कोरोना नियन्त्रण र अर्थतन्त्र चलायमान बनाउन जनताको साथ र सहकार्य आवश्यक रहेको मन्त्री ज्ञवालीले बताए ।

अनलाइन खबरबाट